१९ मंसिर २०८२, शुक्रबार

बाल दिवसमा राष्ट्रपतिको शुभकामना : ‘बालबालिकामा लगानी नै भविष्यको थालनी’

प्रकाशित मिति :  14 September, 2025 7:07 am


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले २९ भदौ राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिका र अभिभावकलाई शुभकामना व्यक्त गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइँदै आएको हो । यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ राखिएको छ ।

राष्ट्रपति पौडेलले सन्देशमार्फत बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासलाई प्राथमिकतामा राखी आवश्यक लगानी सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

संविधानले मौलिक हकका रूपमा बालअधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै उनले कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय प्रतिबद्धता र सरकारी तथा गैरसरकारी निकायहरूको समन्वयात्मक भूमिकाले मात्र बालमैत्री समाज निर्माण गर्न सकिने बताए ।

सन्देशमा भनिएको छ, “अझै पनि केही बालबालिका आफ्ना अधिकारबाट वञ्चित भइरहेका छन्, त्यसतर्फ सबै सरोकारवालाले गम्भीर ध्यान दिन जरुरी छ। बालबालिकामाथि हुने हिंसा, अमानवीय व्यवहार र दुर्व्यवहार अन्त्य गर्नु सबैको दायित्व हो ।”

राष्ट्रपतिले सिर्जनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, आवश्यक खोप र बालमैत्री स्वास्थ्य संस्थाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

साथै, घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सिर्जना गरेर सबै समुदायका बालबालिकालाई समान अवसर उपलब्ध गराउन आजको दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !