प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण : जेन-जी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा
प्रकाशित मिति : 14 September, 2025 12:00 pm
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आज बिहान सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्नु अघि उनले लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।पदभार ग्रहणलगत्तै प्रधानमन्त्री कार्कीले पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सबैलाई शहीद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् । सरकारले मृतकका परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी जम्मा ७२ जनाको ज्यान गएको छ । यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।








