एनसेलले भन्यो:आगामी दिनमा अझ दृढ संकल्पका साथ सेवा पुर्याउने छौं
काठमाडौँ । गत हप्ताको विरोध प्रदर्शनका क्रममा काठमाडौँस्थित मुख्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा भएको तोडफोडका घटनाले गम्भीर क्षति पुर्याएको एनसेलले जनाएको छ।
कम्पनीका अनुसार यी घटनाले भौतिक संरचना मात्र नभई कर्मचारीहरूको सुरक्षामा समेत जोखिम उत्पन्न गरेको र सेवा निरन्तरतामा चुनौती सिर्जना भएको थियो।
यद्यपि एनसेलले यस्तो चुनौतीपूर्ण अवस्थामा पनि दूरसञ्चार सेवा सहज उपलब्ध गराउने प्राथमिकताअनुरूप तीन दिनसम्म आफ्ना ग्राहकलाई निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा प्रदान गरेको जनाएको छ।
कम्पनीले विगत २० वर्षदेखि नेपाली जनतालाई सेवा दिँदै आएको र ग्राहकप्रतिको यो अटुट प्रतिबद्धता निरन्तर रहने स्पष्ट पारेको छ।
नेपाल अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई शुभकामना दिँदै एनसेलले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ। कम्पनीले यो परिवर्तनले नेपाली समाजमा एकता, शान्ति र समृद्धि ल्याउने आशा व्यक्त गरेको छ।
एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र ‘डिजिटल नेपाल’ निर्माणको यात्रामा सहयात्री बनेको उल्लेख गर्दै आगामी दिनमा अझ दृढ संकल्पका साथ सेवा पुर्याउने प्रतिवद्धता दोहोर्याएको छ।
कम्पनीले आफ्ना कर्मचारी, ग्राहक र सरोकारवालाप्रति निरन्तर साथ र ऐक्यबद्धताको लागि आभार व्यक्त गरेको छ।








