१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषदमा तीन मन्त्री टुंगो

प्रकाशित मिति :  14 September, 2025 10:05 pm


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रारम्भिक रूपमा तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा पूर्वसचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ जिम्मेवारी पाउने भएका छन् ।

स्रोतका अनुसार गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने छन् भने घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय पनि दिने तयारी भएको छ । “यो प्रारम्भिक सूची हो, मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,” स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषदमा सहभागी हुने तीन जनाको नियुक्तिपत्र तयार भइसकेको र उनीहरूको शपथग्रहण भोलि बिहान हुने बताइएको छ ।

खनाल हालै मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका हैसियतमा प्रतिवेदन बुझाइसकेका छन् । उनी अर्थसचिवका रूपमा पनि काम गरिसकेका छन् ।

अर्याल कानुन व्यवसायी हुन् । उनी विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनमार्फत चर्चामा आएका थिए । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए ।

घिसिङ भने ऊर्जा क्षेत्रमा चर्चित नाम हुन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेका घिसिङलाई केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा बर्खास्त गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !