समाजसेवाका सारथि लाक्पा तेन्जी शेर्पा
काठमाडाैँ । समाजसेवी लाक्पा तेन्जी शेर्पा गाउँका स–साना बालबालिकाले विद्यालय पुग्न गरेको संघर्ष देखेपछि समाजसेवातिर मोडिए।
बाल्यकाल रामेछापमै बिताएका उनले आफ्नै गाउँठाउँबाट विद्यालय निर्माण, भत्किएका विद्यालय पुनःनिर्माण तथा शैक्षिक सामग्री वितरणमार्फत समाजसेवाको यात्रा सुरू गरे।
शेर्पाको बुझाइमा समाजसेवा पैसाले मात्र हुने कुरा होइन, इच्छाशक्ति, तन, मन र वचनको मिलनले मात्रै सम्भव हुन्छ। उनले भने, “२–३ वर्षका बच्चाले विद्यालय पुग्न गरेको संघर्षले मलाई समाजसेवामा लाग्न प्रेरित गर्यो। गाउँमा स्कुल जान कम्तीमा आधा घन्टा पैदल हिँड्नुपर्थ्यो, जसले गर्दा धेरैले पढाइ छाड्न थाले। त्यसैले मैले सबैभन्दा पहिला विद्यालय बनाएँ।”
नेपालमै समाजसेवा सुरू गरेका शेर्पा सन् २००१ मा अमेरिका पुगे पनि कर्मभूमिबाट जन्मभूमिको सेवामा निरन्तर सक्रिय रहे। २०७२ को भूकम्पदेखि कोभिड–१९ महामारीसम्म उनले राहत, उद्धार र सहयोगमा सक्रिय भूमिका खेले। अहिले उनी अमेरिकास्थित युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा क्युदोङ) का महासचिव भएर संस्थागत रूपमा समेत समाजसेवा गर्दै आएका छन्।
शेर्पा क्युदोङ २००८ मा न्यूयोर्कमा स्थापना भएको गैरनाफामूलक संस्था हो। यसले शिक्षा, संस्कृति, भाषा, खेलकुद र विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सन् २०१६ यता विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरी सहयोग गर्दै आएको संस्थाले भूकम्प, हिमाल आरोहण दुर्घटना र महामारीमा समेत ठूलो रकम संकलन गरेर राहत वितरण गरेको छ।
समाजसेवामा देखिएको विकृति र स्वार्थी प्रवृत्तिबाट असन्तुष्ट शेर्पा निःस्वार्थ भावनाले मात्रै असली समाजसेवा सम्भव हुने तर्क गर्छन्। उनी भन्छन्, “समाजसेवा व्यक्तिगत स्वार्थभन्दा माथिको कुरा हो। त्याग, समर्पण र इमानदारीपूर्वक गर्ने समाजसेवा नै वास्तविक हुन्छ। सच्चा मनले गर्ने समाजसेवामा म जीवनभर लागिरहनेछु।”
विद्यालयदेखि गुम्बा, मन्दिरसम्म निर्माण गरेर उनले स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा समाजसेवाको पहिचान बनाएका छन्। ट्रेकिङ गाइडको यात्रादेखि सुरू भएको उनको समाजसेवा निरन्तर जारी छ, जसले उनलाई समाजसेवाका सारथि बनाएको छ।








