लोकतन्त्र जनताको आवाज सुन्ने प्रणाली हो-प्रधानमन्त्री कार्की
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन् ।
संविधान दिवस–२०८२ का अवसरमा सैनिक मञ्च, टुँडीखेलमा आयोजित मूल समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन् ।
प्रधानमन्त्री कार्कीले जेन जी पुस्ताको आन्दोलन, विगतका प्रतिबद्धता र संघीय गणतान्त्रिक शासन प्रणालीको कार्यान्वयनमा देखिएको कमजोरीकै कारण आजको संकट उत्पन्न भएको उल्लेख गरिन् ।
उनले नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र र सक्षम न्यायपालिका, कानूनी राज्य तथा सुशासनजस्ता लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन नसक्नु अहिलेको चुनौती भएको बताइन् ।
उनका अनुसार युवापुस्तासहित सबै नागरिकले रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासका सवाललाई राष्ट्रिय एजेन्डाका रूपमा अघि सारेका छन् ।
“युवा पुस्ताले उठाएका यि एजेन्डा यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा हुन्, यीलाई आत्मसात् गर्दै सरकारले जनअपेक्षा बमोजिम काम गर्ने प्रतिबद्धता जनाएको छ,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले आफू कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर प्रधानमन्त्री नभएको स्पष्ट पारिन् । संकटको घडीमा परिवर्तनकामी युवापुस्ताको अनुरोधमा संक्रमण व्यवस्थापन गर्न आफू प्रधानमन्त्री बनेको उनले बताइन् ।
संविधानअनुसार आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता उनले जनाइन् ।
संविधान दिवसलाई सबै नेपालीले गौरव गर्ने दिनका रूपमा चित्रण गर्दै कार्कीले यो दिवस केबल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने अवसर भएको पनि उल्लेख गरिन् ।








