संविधानभन्दा बाहिरका अभ्यास अस्वीकार्य-कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र सामाजिक सञ्जाल नियमितीकरणलगायत जेनजी आन्दोलनले उठाएका मागलाई समर्थन जनाउँदै संविधान मास्ने अभ्यासप्रति सचेत रहने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा उपचाररत रहेकाले उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले संविधान बाहिर गएर सरकार निर्माण वा संसद् विघटनजस्ता प्रयासलाई असंवैधानिक बताउँदै अस्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता श्याम घिमिरेले कांग्रेस प्रारम्भदेखि नै भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा उभिएको स्मरण गराए ।
उनले भने, “जेनजी आन्दोलनले उठाएका मागहरू सही छन् र कांग्रेससँग मेल खान्छन् तर त्यसभन्दा बाहिर गएर संविधान मास्नेजस्ता कुरा अस्वीकार्य छन्। कांग्रेस संविधानको रक्षामा दृढ छ ।”
भदौ २३ र २४ गतेको आन्दोलनमा भएको जनधनको क्षति अध्ययन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्नुपर्ने सुझाव पनि कांग्रेसले दिएको छ ।
बैठकले पार्टी कार्यालय, नेताहरूका निवास र डेरामा भएको क्षति बाबजुद कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी गतिविधिमा फर्किन अपिल गरेको छ ।
नेता घिमिरेका अनुसार बैठकमा करिब एक दर्जनभन्दा बढी सदस्यले धारणा राखेका थिए। बैठकमा सभापति देउवाको स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी पनि गराइएको थियो । भदौ २४ गतेको आन्दोलनमा देउवा घाइते भएपछि शुक्रबारको बैठक उपसभापति खड्काको अध्यक्षतामा बसेको हो ।








