रास्वपामा नेतृत्व, सिद्धान्त र नीतिको पुनरावलोकन गर्न ताेसिमा कार्कीकाे माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व रुपान्तरणको बहस चर्किन थालेको छ । पार्टीकी केन्द्रीय सदस्य तोसिमा कार्कीले विज्ञप्ति जारी गर्दै नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रम सबै आयामको पुनरावलोकन तथा पुनर्संरचना आवश्यक रहेको बताएकी छन् ।
उनले ‘देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्नसक्ने राजनीतिक शक्ति निर्माणका लागि रास्वपाको रुपान्तरण अनिवार्य भएको’ औंल्याउँदै तत्काल प्रक्रिया सुरू गर्न आग्रह गरेकी छन् ।
कार्कीको भनाइमा, “आजको समयले खोजेको मध्यममार्गी राजनीतिक शक्ति निर्माण गर्न पार्टीलाई रुपान्तरण गर्नु अपरिहार्य छ ।” उनले पछिल्ला घटनाक्रमले रास्वपाप्रति प्रश्नहरू उठाएको उल्लेख गर्दै जनताको सुशासनको म्यान्डेटलाई आत्मसात गरी नयाँ नेपाल निर्माणको यात्रामा मुख्य शक्ति बन्नुपर्नेमा जोड दिइन्।
जेनजी आन्दोलनले उठाएको आमूल परिवर्तनको मागलाई सबै दलले आत्मसात गर्नुपर्ने उनको भनाइ छ। उनले पुरानो अवस्थालाई चिर्दै सुधारात्मक परिवर्तन ल्याउन पार्टीहरू तयार हुनुपर्ने आवश्यकतामा जोड दिइन्।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अहिले कारागारमा रहेका छन्। यसबीच, जेनजी आन्दोलनको विद्रोह र ठूलो मानवीय क्षतिपछि बनेको अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गरिरहेकी छन्। अन्तरिम सरकार गठनसँगै नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दलभित्र पनि नेतृत्व परिवर्तनको बहस सुरु भएको छ।








