जेनजीको नाममा हिंसात्मक विध्वंश भयो, राम्रोसँग अध्ययन गर्नुपर्छ-पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको जेनजी आन्दोलनका नाममा हिंसात्मक गतिविधि भएको बताएकी छन्।
शुक्रबार जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रहरी अस्पताल पुगेकी उनले आन्दोलनबाट ठूलो क्षति भएको उल्लेख गर्दै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नु अहिलेको पहिलो आवश्यकता भएको बताइन् ।
उनले आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि त्यसको आवरणमा विध्वंसकारी गतिविधि भएको दाबी गरिन् । भण्डारीले भनिन्, “नयाँ पुस्ता जसलाई जेनजी भनिन्छ, उनीहरूले शान्तिपूर्ण ढंगले जिज्ञासा राख्ने भनेर बुझिएको थियो । तर जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भयो । यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ ।”
उनले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको भन्दै राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास सम्भव नहुने स्पष्ट पारिन् ।
“नेपाल प्रहरीको ठूलो क्षति भएको छ। यसमा राज्यले समयमा नै भौतिक व्यवस्थासहित आवश्यक सामग्री उपलब्ध गराउनुपर्छ,” भण्डारीले भनिन् ।
उनले शान्तिपूर्ण रूपमा प्रदर्शनमा निस्किएकामाथि कसरी प्रहार भयो भन्ने विषय पनि बुझ्नुपर्नेमा जोड दिइन् । “कता पट्टिबाट सुरु भयो भन्ने कुरा, कसरी अचानक आयो भन्नेबारे गहिरो अध्ययन आवश्यक छ,” उनले भनिन् ।
राष्ट्रिय भावना र सर्वोपरी हितलाई ध्यानमा राखी काम गर्नुपर्ने बताउँदै पूर्वराष्ट्रपति भण्डारीले बदला र प्रतिशोधको राजनीति मुलुकलाई फाइदा नहुने टिप्पणी गरिन् ।








