१९ मंसिर २०८२, शुक्रबार

६ घण्टाभित्र सडक खोल्नेगरी काम अघि बढाइरहेको मन्त्रालय

प्रकाशित मिति :  20 September, 2025 3:04 pm


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध भएका सडकहरू विशेष परिस्थिति बाहेक ६ घण्टाभित्र खोल्ने गरी काम अघि बढाइएको बताएका छन् ।

शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकमा सचिव शर्माले सडक विभागको टोली निरन्तर सक्रिय रहेको जानकारी दिए ।

उनका अनुसार हाल मौसमका कारण विभिन्न सडक खण्डमा अवरोध भए पनि चाडपर्वमा यातायात सहज बनाउने उद्देश्यसहित आवश्यक मेसिनरी र जनशक्ति परिचालन गरिएको छ ।

पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि काम रोकिएको जानकारी दिँदै सचिव शर्माले भने, “हामीले सुरु गर्न पाएपछि ४ घण्टाभित्र बाटो खोलिन्छ । हाम्रो टोली स्थलमै पुगेको छ, डिजी स्वयं पनि त्यहाँ हुनुहुन्छ ।” पहिरो सक्रिय अवस्थामा रहेको बेला भने तत्काल काम गर्न नसकिने उहाँको भनाइ छ ।

सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखिएको उल्लेख गर्दै सचिव शर्माले थपे, “हाम्रो इक्वीपमेन्टहरू राजमार्गका सम्पूर्ण स्थानमा छ । घटना भएलगत्तै आधा घण्टा वा एक घण्टामा स्थल पुग्छन् । काम सुरु गरेपछि ४ देखि ६ घण्टाभित्र सडक सफा गर्ने गरी योजना बनाएका छौँ । विशेष परिस्थितिबाहेकमा ढिलाइ हुँदैन ।”

बैठकमा मन्त्री घिसिङले चाडपर्वमा यात्रुहरूलाई सहज बनाउन ‘फास्ट ट्रयाक’ शैलीमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच, बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबसलाई दिउँसो सञ्चालन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो र बाढीका कारण अहिलेको परिस्थितिमा राति भन्दा दिउँसो बस सञ्चालन उपयुक्त हुने सुझाव दिएका थिए ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !