जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो ।
आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो भने खर्बौं मूल्यबराबरको सरकारी तथा निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । आयोगले सो घटनाको सत्यतथ्य पत्ता लगाई संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने जिम्मेवारी पाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकै दिन सरकारी/सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
सरकारका अनुसार आयोगले तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्नेछ र त्यसको आधारमा दोषीहरूमाथि कानूनी प्रक्रिया अघि बढाइनेछ ।








