देउवा निवासमा भेटिएको भनिएको नोटबारे छानबिन हुनुपर्ने : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्ने बताएका छन् । उनले अनुमानका भरमा चर्चा–परिचर्चा गर्नुभन्दा राज्यका निकायबाट भइरहेको अनुसन्धानको नतिजा स्वीकार गर्नुपर्ने स्पष्ट पारे ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको कोइराला निवासमा सोमबार पुगेका महामन्त्री शर्माले पत्रकारहरूसँग कुरा गर्दै देउवा निवासमा डढेका नोट फेला परेको विषयमा समेत राज्यका निकायले अनुसन्धान गरिरहेको जानकारी दिए ।
शर्माका अनुसार कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले देउवा निवासमा भेटिएको भनिएको नोटबारे प्रश्न उठाएका थिए । त्यसबेला उनले उक्त विषयलाई स्पष्ट पार्ने दायित्व सम्बन्धित घरवालाको भएको बताए ।
‘यो विषय वस्तुगत अनुसन्धान राज्यले नै गर्नुपर्छ,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायहरूले अनुसन्धान गरिरहेका छन् । निष्पक्ष अनुसन्धानको नतिजा सबैले मान्नुपर्छ।’
महामन्त्री शर्माले टेलिफोन सम्पर्कमार्फत सभापति देउवालाई ध्यानाकर्षण गराएको उल्लेख गर्दै, ‘यसलाई स्पष्ट गर्ने दायित्व घरवालाकै हो,’ भने । उनले आशंका वा अनुमानका आधारमा निष्कर्षमा पुग्नु उचित नहुने दोहोर्याए।
यसैबीच, देउवा निवासमा जलेका नोट भेटिएको विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। तर, सभापति देउवाको सचिवालयले भने सार्वजनिक भएका तस्बिर र भिडियो वास्तविक नभएको दाबी गरेको छ।
पार्टी र सभापति दुवैको स्वास्थ्य महत्वपूर्ण
महामन्त्री शर्माले पार्टी र सभापति दुवैको स्वास्थ्य आवश्यक रहेको पनि बताए। नेतृत्व परिवर्तनबारे उठेका प्रश्नमा उनले भने, ‘संकटको घडीमा पार्टीलाई उत्थान गरेर नयाँ सन्दर्भमा अघि बढाउनु जति जरुरी छ, सभापतिको स्वास्थ्यप्रति संवेदनशीलता देखाउनु पनि उत्तिकै जरुरी छ।’
उनले पार्टी नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने बताउँदै भने, ‘कोइराला निवासको यो माटोमा उभिएर भन्छु – हामी नयाँ ढंगले आउनेछौं, मुलुकलाई सम्हाल्नेछौं र नयाँ सम्भावनातिर लैजाने कृतसंकल्पित छौं।’








