माओवादी केन्द्रमा नयाँ नेतृत्वको बहस : दबाबमा प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्र भित्र नेतृत्व हस्तान्तरणबारे खुलेरै बहस सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ करिब तीन दशकदेखि शीर्ष नेतृत्वमा रहे पनि अहिले पार्टीभित्रैबाट उनको उत्तराधिकारीबारे आवाज उठ्न थालेको छ ।
केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डले पद छाडेर आफूलाई कार्यवाहक दिनुपर्ने प्रस्ताव राखेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको संवेदनशील प्रश्न उठेको हो ।
श्रेष्ठको तर्क छ-एकै व्यक्तिले लामो समयसम्म नेतृत्व सम्हाल्दा संगठन निष्क्रिय बन्न गएको छ र जेन–जी आन्दोलनपछिको राजनीतिक माहोलमा पुराना नेताप्रतिको अविश्वास माओवादी केन्द्रलाई समेत असर गरिरहेको छ ।
तर प्रचण्डले भने आफू जिम्मेवारीबाट पलायन गर्ने अवस्थामा नरहेको दोहोर्याए । उनले भने, “अध्यक्ष हुनु नै नेतृत्व होइन, नेतृत्व त प्रक्रियाबाट आउँछ तर अहिलेको चुनौतीपूर्ण परिस्थितिमा म पन्छिन सक्दिन ।”
यद्यपि प्रचण्डले पहिलो पटक स्पष्टतापूर्वक भनेका छन् कि नेतृत्व हस्तान्तरण कुनै दिन निश्चित प्रक्रियाबाट हुनैपर्छ । उनको भनाइमा, “नेतृत्व कसैलाई टिको लगाएर दिने होइन, वैचारिक–राजनीतिक बहस र संगठनात्मक प्रक्रियाबाट मात्र सम्भव हुन्छ ।”
यो संकेत प्रचण्ड तत्काल पद छाड्ने तयारीमा नभए पनि पार्टीले उत्तराधिकारी खोज्ने अभ्यासलाई अब रोकिन नसक्ने दिशातिर धकेलेको देखिन्छ ।
बैठकमा अन्य नेताहरूले पनि शीर्ष तहमा मात्र नभई सम्पूर्ण नेतृत्वको जीवनशैली, कार्यशैली र आचरणमाथि प्रश्न उठाएका छन् । यसले माओवादी केन्द्र केवल अध्यक्ष परिवर्तनको बहसमा होइन, संगठनलाई पुनर्जीवित गर्ने गहिरो आवश्यकतामा पुगेको संकेत गरेको छ ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, प्रचण्डले नेतृत्व हस्तान्तरणलाई समयसापेक्ष बहसका रूपमा लिन थालेका छन्, तर अहिल्यै पद खाली गर्न अनिच्छुक देखिन्छन् । यता, पार्टीभित्र नयाँ पुस्ताले भने ‘अध्यक्ष मात्र होइन, सोच र शैलीमा पनि नयाँपन’ चाहेको सन्देश दिइरहेका छन् ।
माओवादी केन्द्रको यो बहस निकट भविष्यमा मात्र अध्यक्ष चयनको मुद्दा नभई, पार्टीको अस्तित्व र राजनीतिक हैसियत पुनःनिर्धारण गर्ने निर्णायक मोड बन्न सक्ने आकलन गरिएको छ ।








