विशेष परिस्थितिको समाधान संविधानले नै दिन्छ- सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानकै मार्गदर्शनमा खोजिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
बडा दशैँको अवसरमा सोमबार जारी गरिएको शुभकामना सन्देशमा उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकांक्षाबाट बनेको ऐतिहासिक संविधान मुलुकको स्थिरता, शान्ति र प्रगतिको आधारशिला रहेको उल्लेख गरे ।
सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन्, “संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्दछ । नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानमार्फत नै मुलुकका सबै जटिलता समाधान हुनेछन् ।”
भदौ २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
साथै, आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देउवाले राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, दलका कार्यालयदेखि सर्वसाधारणको निजी सम्पत्तिसम्म भएको तोडफोड, आगजनी र लुटपाटलाई नेपालको इतिहासकै अल्कपनीय र दुःखद घटना भएको उल्लेख गरेका छन् ।
दशैंलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै उनले परिवार, समाज र राष्ट्रबीच एकताको भावना अझ प्रगाढ बनाउन सकोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै देउवाले सबैलाई विजया दशमीको अवसरमा एकता र सद्भावमा जोड दिन आग्रह गरेका छन् ।








