३ चैत्र २०८२, मंगलबार

ओली-लेखकलगायतको राहदानी रोक्का गरिनु राजनीतिक प्रतिशोध-कांग्रेस

प्रकाशित मिति :  1 October, 2025 10:34 am


काठमाडौँ । नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस वक्तव्य जारी गर्दै सरकारले राजनीतिक प्रतिशोधपूर्ण ढंगले कदम चालेको आरोप लगाए ।

वक्तव्यमा भनिएको छ, “राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत निषेध गर्ने किसिमका प्रतिशोध प्रष्टै देखिनेगरी निर्णय गर्न थाल्नुले अन्तरिम सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने भन्दा अर्कै बाटो हिड्न खोजेको देखिन्छ।”

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित छानबिन आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालको राहदानी रोक्का गर्ने निर्णय गरेको हो। पाँचै जना स्वीकृतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि नपाउने व्यवस्था गरिएको छ।

कांग्रेसले यस्तो निर्णयलाई प्रतिशोधपूर्ण राजनीति भनेको छ। वक्तव्यमा भनिएको छ, “दण्डहीनतालाई प्रोत्साहन गर्ने, दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति गर्ने कार्य नगर्न हामी अन्तरिम सरकारलाई सचेत गराउँछौं ।”

कांग्रेसले मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्ने सरकारको प्राथमिक जिम्मेवारीप्रति ध्यान दिन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !