राष्ट्रपति पौडेलको दसैँ शुभकामना : स्थायित्व, सुशासन र समृद्धिको कामना
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वडादशैँ २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको स्थापना होस् भन्ने आकांक्षा प्रकट गरे। राष्ट्रपति पौडेलले वडादशैँ सत्य, धर्म र न्यायको विजयको प्रतीक भएको उल्लेख गर्दै सो पर्वले सम्पूर्ण विश्वमा शान्ति र मानव कल्याणको सन्देश फैलाउने विश्वास व्यक्त गरे।
उनले भनेका छन्, “विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ। यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणको वातावरण कायम होस् भन्ने प्रार्थना गर्दछु।”
राष्ट्रपति पौडेलले चाडपर्वका बेला देशभित्र तथा विदेशमा रहेका नेपालीबीच आत्मीयता र आपसी एकताको भावनाले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन मद्दत पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्।








