जेन–जी समूहको आह्वान : दलका तेस्रो पुस्ताले रुपान्तरणमा नेतृत्व गर्नुपर्छ
काठमाडौँ । जेन–जी आन्दोलनसँग आबद्ध विभिन्न समूहहरुले पुराना राजनीतिक दलभित्रका तेस्रो पुस्ताका नेताहरुलाई पार्टीभित्र हस्तक्षेप गर्दै रुपान्तरणको एजेन्डा अघि बढाउन आग्रह गरेका छन् ।
इण्डिजिनियस जेन–जी कलेक्टिभ, जेन–जी मुभमेन्ट अलायन्स, हाउ टु देश विकास लगायतका समूहहरुले संयुक्त विज्ञप्ति जारी गर्दै “देशमा झल्किएको परिवर्तनको हुङ्कारलाई पार्टीभित्र पनि लैजान” दलका तेस्रो पुस्तालाई आह्वान गरेका हुन्।
विज्ञप्तिमा असल, इमानदार, नैतिकवान्, दयालु, पारदर्शी र जनताप्रति सहानुभूति भएको नेतृत्व अपरिहार्य भएको उल्लेख छ। उनीहरुले तथ्यमा आधारित अनुसन्धान, ज्ञान र क्षमतालाई नेतृत्वको मूल मन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्।
“हाम्रो शंका वर्तमान नेतृत्व, राजनीतिक इच्छाशक्ति, दलीय नैतिकता, कार्यप्रणाली र व्याप्त दलियाकरणप्रति हो,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले हामी अहिलेका राजनीतिकर्मीलाई खबरदारी गर्न चाहन्छौं।”
समूहहरुले भ्रष्टाचार नरोकिने स्पष्ट दाबी गर्दै दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटेको सम्पत्ति फिर्ता गर्न दबाब दिन आग्रह गरेका छन् ।
साथै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतलाई तत्काल पक्राउ गरी छानबिन अघि बढाउन माग गरिएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक समावेशीता र अर्थपूर्ण सहभागितालाई आफूहरुले स्वीकार गरेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, “यो आन्दोलनले सरकार, नेतृत्व र दलप्रति जनताको विश्वास गुमिसकेको ठोस चेतावनी दिएको छ ।
त्यसैले अन्तरिम सरकारलाई वैधानिकता दिँदै त्यसलाई दिशानिर्देश गर्ने, जवाफदेही बनाउने र भावी सरकारलाई समेत मार्गदर्शन गर्ने गरी राज्य र आन्दोलनरत पक्षबीच सम्झौता अपरिहार्य छ।”
जारी गरिएको विज्ञप्ति ३९ जिल्लाका प्रतिनिधिहरूसहित १२ वटा समूहमा भएको छलफलपछि सार्वजनिक गरिएको हो।








