रास्वपाले भन्याे-रवि लामिछानेमाथिको मुद्दा निष्पक्ष र छिटो निस्कर्षमा पुग्नुपर्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पुगेकाले यसको न्यायिक प्रक्रिया निष्पक्ष र छिटो सम्पन्न हुनुपर्ने माग गरेको छ।
शुक्रबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ सोबिता गौतम र नेता हरि ढकालले सरकारलाई प्रतिशोधको राजनीतिबाट टाढा रहन चेतावनी दिएका छन् ।
नेतृ गौतमले भनिन्, “यो मुद्दा अब अदालतको हातमा पुगेको छ। त्यसैले ट्रायल प्रक्रिया निष्पक्ष र छिटो हुनुपर्छ। अघिल्ला सरकारले प्रतिशोध साँधेको कुरा स्वतः प्रमाणित भइसकेको छ ।”
उनले जोड दिइन्, “हामीले न त अदालतमा दबाब दिएका छौं, न दिन चाहन्छौं। हामीलाई विश्वास छ-अदालतले न्याय दिन्छ।” त्यस्तै, नेता ढकालले लामिछानेलाई जेलबाट निकाल्ने कुनै राजनीतिक योजना नरहेको स्पष्ट पारे। उनले भने, “हामी उहाँको सुरक्षाको दृष्टिले मात्र जेल गएका थियौं, अरू कुनै उद्देश्य थिएन ।”
ढकालले छठ पर्वलगत्तै ‘सद्भाव यात्रा’ सुरु गर्ने तयारी भएको जानकारी दिँदै समाजमा फैलिएको विभाजन र अविश्वास घटाउने उद्देश्य रहेको बताए । उनले पार्टीमा नयाँ सदस्यका लागि अझै प्रशस्त अवसर रहेको पनि बताए ।








