१९ मंसिर २०८२, शुक्रबार
राजनीति

एमाले सचिवालय बैठक जारी : महाधिवेशनकाे निर्णय हुनसक्ने

प्रकाशित मिति :  12 October, 2025 1:45 pm


काठमाडाैँ । नेकपा (एमाले) को सचिवालय बैठक गुण्डुमा आज निर्णायक चरणमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको बैठक पुनः शुरू भई महाधिवेशनको मिति तोक्ने र आगामी राजनीतिक दिशा तय गर्ने तयारी भइरहेको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आज बाँकी नौ सदस्यले धारणा राखेपछि आवश्यक निर्णय गर्दै बैठक टुंग्याइनेछ । शुक्रबारको बैठकमा नौ नेताले आफ्नो भनाइ राखिसकेका थिए ।

अध्यक्ष ओलीले उद्घाटन मन्तव्यपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव ज्ञवालीले धारणा राखेका थिए ।

जेन–जी आन्दोलनपछि देशको बदलिँदो राजनीतिक परिदृश्यमा एमालेभित्र तीन तहको बहस चर्किएको छ-ओलीको नेतृत्व निरन्तरता दिने कि पुस्तान्तरण गर्ने, संसद् पुनःस्थापना अभियानमा उत्रने कि निर्वाचन तयारीमा जाने भन्ने विषयमा नेताहरू विभाजित छन् ।

त्यस्तै, पूर्व राष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्दै पार्टी संरचना सुदृढ गर्ने सुझाव पनि बैठकमा उठेको छ । आजको बैठकले यी सबै एजेन्डामा ठोस निर्णय गर्दै एमालेको आगामी रणनीति स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !