१९ मंसिर २०८२, शुक्रबार
जेन-जी आन्दाेलनकाे प्रभाव

जेन–जी आन्दोलनको छायाँ पुनः गहिरिँदै : बालेन र सुदनविरुद्ध नेविसंघको उजुरी

प्रकाशित मिति :  12 October, 2025 1:50 pm


काठमाडाैँ । जेन–जी आन्दोलनको तरङ्ग पुनः राजनीतिक विवादमा रूपान्तरण हुँदै गएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ ।

गत भदौ २३ र २४ मा देशभर फैलिएको जेन–जी आन्दोलनमा भएका आगजनी र तोडफोडका घटनामा उनीहरूको संलग्नता रहे–नरहेकोबारे छानबिन गर्न माग गर्दै नेविसंघले काठमाडौं र ललितपुर प्रहरी परिसरमा उजुरी दिएको हो ।

उजुरीमा विद्यार्थीहरूलाई आन्दोलनमा उक्साउने, राष्ट्रिय सम्पदामा क्षति पुर्‍याउने, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाट गराउने आरोप लगाइएको छ । नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह उजुरीकर्ताको रूपमा नाम दिएका छन् ।

उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन् । उजुरीकर्तामध्येका अशोकसिंह विष्टका अनुसार प्रहरीले सरकारी वकिलसँग सल्लाह गरेर जवाफ दिने जनाएको छ ।

यसअघि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा दमन गरेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि जाहेरी दिएका थिए । त्यसलगत्तै एमाले–निकट अनेरास्ववियुले उल्टै उनीहरूविरुद्ध उजुरी दर्ता गरेको थियो । अब यो विवादले जेन–जी आन्दोलनको राजनीतिक अर्थ र जिम्मेवारीबारे नयाँ बहस चर्काउने संकेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !