विशेष महाधिवेशनको दबाबबीच बस्दै कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौँ । जेन–जी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकको प्रमुख एजेन्डा भने पार्टीको आगामी महाधिवेशन बनेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने मागसहित हस्ताक्षर अभियान अघि बढाएपछि पार्टीभित्र महाधिवेशनको स्वरूप र समयबारे तीव्र बहस सुरु भएको छ । उनीहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५१ प्रतिशत हस्ताक्षर संकलन भइसकेको दाबी गरेका छन् ।
शेखर कोइरालाले भने मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गर्दै कार्यतालिका तयार पारेका छन् । उनका अनुसार मंसिर मसान्तभित्र नेतृत्व परिवर्तन हुनेगरी महाधिवेशन प्रक्रिया अघि बढाउन सकिने, आवश्यक परे केही हप्ता थपेर भए पनि निर्वाचन सम्पन्न गर्नुपर्ने प्रस्ताव उनले प्रस्तुत गर्न लागेका छन् ।
तर, संस्थापन पक्षले देश संकटग्रस्त अवस्थामा रहेको भन्दै वैशाखसम्मको कार्यतालिका बनाउने र अहिले राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने अडान लिएको छ । सो पक्षले तत्काल नेतृत्व परिवर्तन भन्दा पनि संगठन सुदृढीकरण र राष्ट्रिय सहमतिको आवश्यकता देखाएको छ ।
आजको बैठकअघि नै विशेष महाधिवेशनको मागसहित महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउने तयारी भएको केन्द्रीय सदस्य मधु आचार्यले बताए ।
उनका अनुसार शेखर कोइरालानिकट गुरु घिमिरेको नेतृत्वमा अनामनगरस्थित सम्पर्क कार्यालयमा हस्ताक्षर संकलन र प्रस्ताव तयार पार्ने काम भइरहेको छ ।
महामन्त्रीद्वयको अभियानले कांग्रेसभित्र शक्ति सन्तुलन र नेतृत्वको वैधता पुनः बहसमा ल्याएको छ । पार्टीले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिको मूल्याङ्कन, आन्तरिक एकता र आगामी राजनीतिक गन्तव्य तय गर्ने अवसर पाएको भए पनि, अहिलेको विवादले त्यसलाई ओझेल पार्ने सम्भावना देखिएको छ ।








