सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु
काठमाडौँ । चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन प्रकरणले अब पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी संकटमा तानेको छ ।
लामो समयदेखि राजनीतिक प्रभाव र विवादको घेरामा रहेका महराविरुद्ध आजदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ ।
सरकारी वकिल कार्यालयले सोमबार अदालतमा दर्ता गरेको अभियोगपत्रमा महराविरुद्ध ८ करोड ५५ लाख रुपैयाँ बिगो असुल र ३ वर्ष कैद सजायको माग गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार उनलाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा ली हासोङ्गले ल्याएको भेपमार्फत सुन तस्करीको पूरक अभियोगमा अहिले महरालाई मात्र प्रतिवादी बनाइएको छ ।
यसअघि गठित सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले उनलाई प्रत्यक्ष संलग्न ठहर गर्दै मुद्दा पुनः चलाउन सिफारिस गरेको थियो ।
राजनीतिक जीवनमा पटक–पटक विवादमा तानिएका महराका लागि यो मुद्दा गम्भीर चुनौती बन्ने देखिएको छ । पार्टीका वरिष्ठ नेतासमेत रहेका उनले यसअघि प्रतिनिधिसभा सचिवालयकी एक कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा पद गुमाएका थिए ।
सुन प्रकरणमा नाम जोडिँदै जाँदा कांग्रेसदेखि माओवादी केन्द्रसम्मका नेताहरू पनि सतर्क भएका छन् । स्रोतका अनुसार, सीआईबीले महरासँगै केही अन्य उच्च पदस्थ व्यक्ति र व्यापारीका सम्पर्क विवरण र वित्तीय कारोबार पनि अनुसन्धान दायरामा ल्याएको छ ।
आजको थुनछेक बहसले अदालतले महरालाई थुनामा पठाउने वा साधारण तारेखमा रिहा गर्ने भन्ने निर्णयको दिशा तय गर्नेछ । योसँगै ‘राजनीतिक हैसियत कानुनी जाँचबाट माथि उठ्न सक्दैन’ भन्ने सन्देश पुनः स्पष्ट हुँदैछ ।








