१९ मंसिर २०८२, शुक्रबार
जेन-जी आन्दाेलनपछि बैठक बस्दै

एमाले केन्द्रीय समिति बैठक आजबाट : अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन

प्रकाशित मिति :  15 October, 2025 7:18 am


काठमाडौँ । जेन–जी आन्दोलनपछि नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज (बुधबार) देखि सुरु हुँदैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा तीन दिनसम्म चल्नेछ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उक्त प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति, जेन–जी आन्दोलन, घुसपैठ, व्यक्ति तथा सार्वजनिक सम्पत्तिमाथिको आक्रमण, असंवैधानिक रूपमा संसद् विघटन, अन्तरिम सरकारको गठन र यसको असरजस्ता विषय समेटिएका छन् ।

प्रतिवेदनमा सरकारले निर्वाचनको हौवा पिटेको, दलहरूसँग संवाद नगरेको र निर्वाचनको वातावरण बिगारेको जस्ता टिप्पणी पनि हुने गौतमले बताए ।

बैठकमा आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय हुनेछ । नेतृत्वले महाधिवेशनमार्फत ‘फ्रेस म्यान्डेट’ लिएर जनतामाझ जाने तयारी गरेको छ ।

साथै, लोकतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै आन्दोलन र जनपरिचालन कार्यक्रम घोषणा गर्ने तयारी रहेको छ ।

बैठकमा क्षेत्रगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्ने अवसर दिइनेछ । बोल्ने क्रम अल्फाबेटिकल आधारमा तय गरिएको छ र प्रत्येक सदस्यलाई तीन मिनेट समय दिइने कार्यलय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !