१९ मंसिर २०८२, शुक्रबार

सभामुख घिमिरे र दलबीच प्रतिनिधि सभा पुनर्स्थापनाबारे छलफल

प्रकाशित मिति :  15 October, 2025 11:41 am


काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा सभामुख देवराज घिमिरेले बुधबार दलका नेताहरूसँग परामर्श सुरु गरेका छन् । संसद् भवनस्थित सभामुखको कार्यकक्षमा अहिले बैठक जारी छ।

सभामुख घिमिरेले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायत दलका प्रमुख सचेतकहरूलाई छलफलमा सहभागी हुन बोलाएका छन् तर चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने बैठकमा सहभागी भएको छैन ।

प्रतिनिधि सभा विघटनविरुद्ध कानुनी बाटोमा जानेबारे सभामुखले दलहरूका सुझाव लिइरहेका छन् । उनले आफैं रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा पनि परामर्श थालेका हुन् ।

गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन तोकेका थिए ।

तर, दलहरूले उक्त कदम असंवैधानिक भएको दाबी गर्दै पुनर्स्थापनाको माग गर्दै आएका छन्। यही विषयमा कानुनी प्रक्रिया अघि बढाउने तयारी स्वरूप सभामुखले दलहरूसँगको बैठक आयोजना गरेका हुन्।

यसअघि भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसको केही दिनमै प्रतिनिधि सभा विघटन गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !