सुरक्षा संयन्त्रको कमजोरीले देश संकटमा, अब एक मात्र विकल्प निर्वाचन-प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ गते काठमाडौँमा भएको आन्दोलनका क्रममा देखिएको सुरक्षा लापरबाहीलाई गम्भीर गल्तीका रूपमा व्याख्या गरेका छन् ।
उनले भने, “युवाहरूको आन्दोलन शान्तिपूर्ण थियो, तर सरकार र सुरक्षा संयन्त्रको तयारी नहुँदा र संवेदनशीलता नदेखाउँदा स्थिति हिंसात्मक बन्यो । कलेज ड्रेसमा रहेका युवामाथि टाउको र छातीमा गोली चलाइनु लज्जास्पद हो ।”
उनले भने, “घटनापछि म भदौ २३ गते राति नै काठमाडौं फर्किएँ र आकस्मिक बैठक बसेर पार्टीले मृतकलाई सहिद घोषणा, उच्चस्तरीय छानबिन समिति गठन र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय गर्यो ।”
उनका अनुसार माओवादी केन्द्रले आन्दोलनलाई वैधानिकता दिँदै प्रतिपक्षी दलहरूबीच सहकार्य र साझा धारणा बनाउन पहल गरेको थियो ।
भदौ २४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठकपछि सुरक्षाको जोखिम बढेपछि उनले स्वयंको पहलमा सेनाको समन्वयमा सुरक्षित स्थानमा रहनु परेको खुलासा गरे । “हामीलाई कसैले लगेको होइन, हामी आफैं सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौं,” उनले भने ।
प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को विकल्प नदिएको टिप्पणी गरे । “राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू र अन्तर्राष्ट्रिय समुदाय सबैको निष्कर्ष एउटै हो-देशलाई अब निर्वाचनमै लैजानुपर्छ,” उनले जोड दिए ।
उनका अनुसार संसद् पुनर्स्थापना सम्भव भए पनि त्यो अब गौण एजेन्डा बनेको छ । उनले भने, “एमालेबाहेकका सबै दल निर्वाचनमा जान सहमत भइसकेका छन्, र एमालेभित्र पनि अधिकांश सदस्य चुनावका पक्षमा छन् । ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।”
पार्टी एकताको सन्दर्भमा उनले लामो समयदेखि तयारीमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जनाए। “समाजवादी मोर्चाभित्र पहिलो चरणको एकता अब केही दिनमै घोषणा हुनेछ,” उनले भने, “हाम्रो दीर्घकालीन लक्ष्य भने एमालेसम्म पुग्ने र सबै वाम शक्तिलाई एउटै मोर्चामा ल्याउने हो।”
कार्यकर्तालाई उनले निर्वाचनलाई जनताको पक्षमा काम गर्ने अवसरको रूपमा लिन आग्रह गरे। “माओवादी केन्द्र फेरि जनताको विश्वास जित्नेछ,” उनले भने, “हामी सबै एक भएर निर्वाचनमा जानुपर्छ।”
सम्पूर्ण भाषणमा प्रचण्डले सत्ता–समीकरणभन्दा माथि जनमतको आवश्यकता र राजनीतिक स्थायित्वको प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गरे। उनका अनुसार, “अब देशको बाटो आन्दोलन होइन, निर्वाचन हो।”








