१९ मंसिर २०८२, शुक्रबार

पूर्व मन्त्री तथा माओवादी नेता गणेश शाहले पार्टी परित्याग

प्रकाशित मिति :  16 October, 2025 11:59 am


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा सचिव गणेश शाहले पार्टी परित्याग गरेका छन्। उनले शुक्रबार औपचारिक रूपमा माओवादी केन्द्र छोडेको घोषणा गरेका हुन् ।

शाहले नेतृत्वले पार्टी एकता र जनसापेक्ष निर्णय गर्न नसकेको आरोप लगाउँदै अब माओवादीसँग आफ्नो राजनीतिक यात्रा अन्त्य भएको बताएका छन् । उनले भने, “राज्यलाई आवश्यक परे आफ्नो विज्ञता र क्षमता अनुसार सहयोग गर्न सक्छु, तर माओवादी सपार्न सकिन, त्यसैले छोड्ने निर्णय गरेँ ।”

उनका अनुसार अब कुनै राजनीतिक दलमा लाग्ने योजना छैन । “माओवादीले पार्टी एकता गरेर अगाडि बढ्ने भनेको थियो, तर त्यो सम्भव हुन सकेन,” शाहले स्पष्ट पारे ।

विज्ञान र प्रविधि क्षेत्रमा लामो अनुभव राख्ने शाह माओवादीभित्र बौद्धिक तथा नीतिगत धारका नेता मानिन्थे। उनी पूर्व मन्त्रीसमेत रहेकाले उनको पार्टी परित्यागले माओवादी केन्द्रभित्र आन्तरिक असन्तुष्टिलाई थप उजागर गरेको विश्लेषण गरिएको छ ।

पार्टी एकता, वैचारिक दिशाहीनता र नेतृत्वप्रतिको असन्तुष्टिका कारण शाहको यो कदमले माओवादी केन्द्रका आगामी पुनर्संरचनात्मक प्रयासमा थप चुनौती थप्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !