१९ मंसिर २०८२, शुक्रबार
एमाले केन्द्रीय कमिटी बैठक

एमाले केन्द्रीय कमिटी बैठक आज समापन हुँदै : अध्यक्ष ओलीले दिनेछन् जवाफ

प्रकाशित मिति :  17 October, 2025 7:28 am


ललितपुर । नेकपा (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक शुक्रबार सम्पन्न हुँदैछ । तेस्रो तथा अन्तिम दिनको बैठक बिहान ८ बजेबाट सुरु हुनेछ ।

ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा र सुझाव राखेका थिए । त्यसअघि पहिलो दिन ५० सदस्यले आफ्नो विचार व्यक्त गरेका थिए ।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय दिइएको थियो । आजको अन्तिम सत्रमा पदाधिकारीहरूले धारणा राख्ने र त्यसपछि अध्यक्ष ओलीले तीन दिनदेखि आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचन, पार्टीको रणनीति र कार्यकर्ताको भूमिकासम्बन्धी विषयमा अध्यक्ष ओलीले विस्तृत निर्देशन दिने जनाइएको छ ।

जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक जटिलता र सत्ता समीकरणका बदलिँदो अवस्थाको मूल्याङ्कनका लागि एमालेले यो विशेष बैठक बोलाएको हो । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११औँ महाधिवेशन गर्ने निर्णय गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !