जेन–जी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा नयाँ पार्टी घोषणा हुँदै
काठमाडौँ । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा हुने भएको छ । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै नयाँ दल गठनको जानकारी दिएका हुन् ।
ढुंगानाले नयाँ बानेश्वरस्थित एभरेस्ट इन्टरनेसनल होटलमा आज दिउँसो १ बजे विशेष पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।
उनका अनुसार देश गम्भीर राजनीतिक संक्रमण र दिशाहीनतामा फसेको अवस्थाले नयाँ राजनीतिक विकल्पको आवश्यकता महसुस गराएको हो ।
उनले भाद्र २३/२४ को जेन–जी विद्रोहमा बलिदान भएका ७६ जनाको “आन्दोलनका उपलब्धि र जनआकांक्षाको रक्षाका लागि नयाँ राजनीतिक पहल अपरिहार्य” भएको बताएका छन् ।
ढुंगानाले देशलाई अग्रगामी निकास दिने उद्देश्यसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली र विदेशमा रहेका नेपालीलाई समेत मताधिकार सुनिश्चित गर्ने एजेन्डा अघि सारेका छन् ।
स्मरण रहोस्, मिराज ढुंगाना तत्कालीन केपी शर्मा ओली सरकार पतन र सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठनका लागि निर्णायक भूमिका खेलेको दुई दिने जेन–जी आन्दोलनका प्रमुख अनुहारमध्ये एक हुन् ।
कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेभित्र निर्वाचन गराउने तयारी थालेसँगै नयाँ दल घोषणाको क्रम तीव्र बन्दै गएको छ ।








