जेन–जी युवा मिरज ढुंगानाको स्पष्ट सन्देश : मुख्य बटमलाइन पूरा नभइ हामी निर्वाचनमा जाँदैनौं
काठमाडौँ । जेन–जी युवा अभियानका नेता मिरज ढुंगानाले आफूहरूले बनाइरहेको नयाँ राजनीतिक दलको उद्देश्य केवल निर्वाचनमा भाग लिनका लागि नभएको स्पष्ट पारेका छन् ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दल खोल्नुको अर्थ सत्तासंघर्ष होइन, प्रणाली परिवर्तनको अभियान हो भनेका छन् ।
ढुंगानाका अनुसार, दलको मूल उद्देश्य देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गराउने र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गराउनु हो । यी दुई माग पूरा नभएसम्म निर्वाचनमा नजाने उनीहरूको अडान रहेको उनले प्रष्ट रूपमा दोहोर्याए ।
“हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु होइन, यो कुरा क्लियर होस्,” ढुंगानाले भने, “हामी हुलमुल होइनौं, दृष्टि र लक्ष्यसहितको संगठन हौं ।”
उनले भनाइ थप्दै भने, “देश विकासका लागि भिड भएर हुँदैन, संस्थागत ढाँचा चाहिन्छ, त्यसका लागि कि एनजीओ खोल्नुपर्छ, कि राजनीतिक दल नै। नत्र हुलमुलले परिवर्तन ल्याउँदैन ।”
ढुंगानाले आफ्नो अभियानलाई दीर्घकालीन ‘संगठित क्रान्ति’को रूपमा व्याख्या गर्दै सबै देशभित्र र बाहिर रहेका युवालाई एउटै छातामुनि आउन आह्वान गरे । “हाम्रो छाता ठूलो छ,” उनले भने, “बाहिर रहेका सबै समूहहरू मिलौं, यो खालको क्रान्ति धेरै समयपछि आएको हो ।”
उनले पुनः जोड दिए, “हाम्रो बटमलाइन पूरा नभइ चुनावमा जाने तयारी छैन। प्रत्यक्ष कार्यकारीको मुद्दा र प्रवासमा रहेका नेपालीलाई मतदान अधिकार यी दुई कुरा सुनिश्चित नभएसम्म हामी निर्वाचनमा जाँदैनौं।”
ढुंगानाले विदेशमा रहेका करिब ८० लाख नेपालीको योगदान स्मरण गर्दै भने, “३ करोड नेपालीमध्ये ८० लाखलाई छुटाएर कसरी जनमतको प्रतिनिधित्व पूरा हुन्छ? ती नेपालीहरूलाई मताधिकार नदिएसम्म हामी निर्वाचनमा सहभागी हुने छैनौं ।”
ढुंगानाको भनाइ अनुसार, जेन–जी अभियान अहिले वैकल्पिक राजनीतिक संरचना निर्माणतर्फ अघि बढ्दैछ, जसले प्रणाली परिवर्तनलाई प्राथमिकता दिनेछ, न कि केवल सत्ताको खोजीलाई।








