वर्तमान सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको असंवैधानिक सरकार हो-अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई संविधानले नचिनेको असंवैधानिक सरकार भएको आरोप लगाएका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै ओलीले अहिलेको सरकारले आगजनी, तोडफोड र लुटमारको भयावह अवस्थाबाट जन्म लिएको दाबी गरे ।
उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई “प्रतिक्रान्ति”को संज्ञा दिँदै सो आन्दोलनले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाए ।
उनले भने, “अहिलेको सरकार आगजनी, तोडफोड, लुटमारको एउटा भयावह स्थितिबाट जन्मिएको, संविधान र कानुनले कतै नचिनेको असंवैधानिक सरकार हो । कुन संविधान अनुसार बनेको छ ? लोकतान्त्रिक प्रणाली मान्दैन भने के मानिन्छ ? यो प्रतिक्रान्तिको सरकार हो जसले देशलाई शान्तिबाट हिँसा र अराजकतामा धकेलेको छ ।”
अध्यक्ष ओलीले संसद विघटन गर्ने अधिकार जनताको अभिमतबाट बनेको प्रतिनिधिसभासँग मात्रै रहेको उल्लेख गर्दै प्रश्न गरे, “जनताको मतबाट बनेको संसद् विघटन गर्ने अधिकार यो सरकारलाई कसले दियो ? क्रान्तिबाट बनेको सरकार हो त ? होइन, यो प्रतिक्रान्ति हो ।”
उनले हालको सरकारले प्रतिशोध लिने प्रवृत्ति देखाएको आरोप लगाउँदै भने, “देश कानूनी राजबाट आवेश, उत्तेजना र प्रतिसोधमा परिणत हुँदै गएको छ। यस्तो प्रवृत्तिले लोकतान्त्रिक प्रणाली र संवैधानिक अभ्यासलाई कमजोर बनाइरहेको छ।”








