निर्वाचन सुरक्षामा ‘फुलप्रूफ प्लान’: गृहमन्त्री अर्यालको सक्रियता
चारवटै सुरक्षा निकाय संलग्न एकीकृत रणनीति अन्तिम चरणमा, जिल्लास्तरमा पनि कार्यान्वयन तयारी सुरु
काठमाडाैँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले देशभर सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गरेका छन् ।
गृह तथा रक्षा सचिवसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिहरू सहभागी बैठकले सुरक्षा योजनाको नीतिगत दिशा तय गर्ने तयारी गरेको छ ।
गृहमन्त्री अर्यालले पदभार सम्हालेपछि समिति गठन गर्दै सुरक्षालाई निर्वाचनको मुख्य पूर्वशर्तका रूपमा प्राथमिकता दिएका हुन् । गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा बनेको उक्त समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिव छन् ।
समितिले तयार पारेको ‘एकीकृत सुरक्षा योजना’ प्रत्येक जिल्लामा पठाइनेछ। जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले सो योजनाको कार्यान्वयनको जिम्मेवारी लिनेछ।
गृह मन्त्रालयका स्रोतका अनुसार सुरक्षा रणनीतिले मतदान केन्द्रदेखि मतपेटिका ढुवानी, संवेदनशील क्षेत्रको निगरानी, र आकस्मिक प्रतिक्रिया योजनासम्मका सबै विषय समेटेको छ। आगामी निर्वाचनलाई ‘शान्त, निष्पक्ष र भयरहित’ बनाउन सरकार अब रणनीतिक ‘ड्राइभ मोड’मा पुगेको जनाइएको छ।
एक उच्च अधिकारीका शब्दमा, “यो पटकको निर्वाचन सुरक्षामा ‘फुलप्रूफ प्लान’ तयार हुँदैछ, जसले देशभरको संयन्त्रलाई एउटै कमाण्ड स्ट्रक्चरभित्र सञ्चालन गर्नेछ।”
स्रोतहरूका अनुसार सरकारले निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकतामा राख्दै सम्पूर्ण मन्त्रालय, सुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई त्यसैमा केन्द्रित गरेको छ ।
गृह मन्त्रालयका अनुसार आगामी केही दिनभित्र सबै जिल्लाले आफ्नो स्थानीय सुरक्षा कार्ययोजना गृहमा बुझाउने तयारी गरिरहेका छन्।








