ओलीको चेतावनी : अराजकता रहिरहे म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था यथावत् रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलमा उनले जनताले अहिलेको अराजकता धेरै दिन सहन नसक्ने बताएका छन् ।
ओलीले भने, “यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैनन् । अनि फेरि पनि अरुबाट नहुने रहेछ भन्ने ठहर गर्दै यस्तो अराजकता चल्छ ? भन्ने प्रश्न आउँछ ।”
छलफलका क्रममा ओलीले उपस्थित सम्पादकहरूलाई व्यंग्य गर्दै भने, “तपाईंहरूले अहिले अलि मेलो पाउनुभएको छैन, तर केही दिनमै सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔँ केपी ओलीलाई भनेर ।”
उनले जेन–जी आन्दोलनलाई तीन भागमा विभाजन गरेर हेर्ने गरेको बताउँदै आन्दोलनका मागहरू वैध भए पनि त्यसलाई षड्यन्त्रपूर्वक प्रयोग गरिएको दाबी गरे । उनका अनुसार आन्दोलनका मुख्य मागहरू थिए, भ्रष्टाचार अन्त्य, सुशासन कायम, र रोकिएका सामाजिक सञ्जाल खोल्नुपर्ने ।
ओलीले भने, “जेन–जीलाई धोकामा पारियो, जे गरेर भए पनि विरोध प्रदर्शनका लागि तयार पारियो ।” उनका अनुसार जेन–जीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्, तर योजनाबद्ध रूपमा तिनीहरूलाई संसद् भवनतर्फ धकेलिएको थियो ।
ओलीले वास्तविक जेन–जी पुस्ता अहिले त्रासमा रहेको दाबी पनि गरे । उनले भने, “जेन–जीको नाम लिइयो, तर उनीहरू अहिले कहाँ छन्, के खाँदैछन् ? उनीहरू त्रसित छन् । ड्र्यागनका ट्याँटु खोपेकाहरूले धम्क्याउँछन् । आन्दोलनमा सहभागी युवाहरू डेरा छोडेर भाग्ने अवस्थामा पुगेका छन् ।”
अन्त्यमा ओलीले जेन–जीको नाम भजाएर गैरसंवैधानिक सरकार निर्माण गरिएको आरोप लगाए । उनका अनुसार “जेन–जीको नाम प्रयोग गरेर लोकतान्त्रिक प्रक्रिया नै अपहरण गर्ने प्रयास भइरहेको छ ।”








