सिङ्गाे गाउँ सन्नाटामा : दुई वर्षपछि कफिनमा फर्किए विपिन जोशी
काठमाडाैँ । तिहारको रौनकले देशभर घर–घर उज्यालो बनाइरहेको सोमबार बेलुकी, कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोल भने सन्नाटाले ढाकिएको थियो । जहाँ बत्ती र फूलको साटो, आँसु र रुदनले वातावरण भारी बनेको थियो ।
दुई वर्षअघि अध्ययनका क्रममा इजरायल पुगेका विपिन जोशी सोमबार लक्ष्मीपूजाकै रात कफिनमा फर्किए । इजरायल–हमास युद्धको क्रममा बन्धक बनाइएका जोशीको शव दुई वर्षपछि घर आइपुग्दा सिङ्गो टोल शोकसागरमा डुबेको छ ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पाले उनको सकुशल रिहाइका लागि इजरायलदेखि अमेरिकासम्म धाएर गरेको प्रयास निष्फल भयो ।
केही दिनअघि मात्रै हमासले विपिनको मृत्यु भएको सार्वजनिक गरेपछि सोमबार बिहान परिवारले आधिकारिक जानकारी पायो । त्यो क्षणसँगै तिहारका लागि घरमा राखिएका सयपत्री फूलहरू मर्छन् जस्तो गरी उखेलिएको परिवारजनले बताए ।
“पुष्पा यसपालि भाइटीकामा दाजु भेटिन्छन् भन्ने ठूलो आशामा थिइन्,” विपिनका दाजुभाइ किशोर जोशी भन्छन्, “तर लक्ष्मीपूजाकै दिन घरमा दाजुको शव आइपुग्दा त्यो सपना राख्ने ठाउँ पनि रहेन ।”
नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको शव परिवारलाई हस्तान्तरण गर्न सोमबार बेलुकी धनगढी पुगेका थिए । नेपाली सेनाको स्काइ ट्रकमार्फत शव काठमाडौँ हुँदै ल्याइएको थियो । आज बिहान विपिनको अन्तिम संस्कार महेन्द्रनगरस्थित महाकाली नदीमा गरिँदैछ।
इजरायलले पठाएको फरेन्सिक रिपोर्टअनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । इजरायलको द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन को परीक्षणमा सो विवरण उल्लेख गरिएको छ ।
विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थीमध्ये एक थिए । इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । युद्धविरामपछि मात्र उनको मृत्यु पुष्टि भयो ।
भाइटीकाको अधुरो सपना
दुई वर्षदेखि बहिनी पुष्पाको एउटै इच्छा थियो-“यसपालि भाइटीका लगाउनेछु ।” तर त्यो सपना सधैँका लागि अधुरो रह्यो। आमा र बहिनी विपिनको रिहाइका लागि परदेश पुगेका बेला तिहारको रात उनीहरूले आफैंले नै विपिनको निधनको खबर सुन्नु पर्यो।
मालिकार्जुन टोलमा यस वर्ष दीपावलीको उज्यालो होइन, सम्झनाको अन्धकार छाएको छ। हरेक घरका झिलिमिली बत्तीहरू विपिनको नाममा निभाइएका छन्। शोक, मौनता र पीडाबीच तिहारको रङ हराएको छ।
“भाइ फर्किन्छ भन्ने ठूलो विश्वास थियो,” परिवारका सदस्य किशोरले अन्त्यमा भने, “तर त्यो विश्वास पनि आज नदीमा बगेको छ, दाजुको शरीरसँगै।”








