विनियोजन विधेयक–२०८३ का सिद्धान्त र प्राथमिकता दलाल पुँजीवाद र आयातमुखी आर्थिक सोचबाट प्रभावितः नेकपा
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झक्कुप्रसाद सुवेदीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक–२०८३ का सिद्धान्त र प्राथमिकता दलाल पुँजीवाद र आयातमुखी आर्थिक सोचबाट प्रभावित रहेको टिप्पणी गरे ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा विनियोजन विधेयक–२०८३ का सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखे ।
उनका अनुसार सरकारले उत्पादनभन्दा उपभोग, श्रमभन्दा बजार, आत्मनिर्भरताभन्दा आयात तथा सामाजिक न्यायभन्दा निजी क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ । उनले प्रस्तुत दस्तावेजलाई केवल सरकारको नीति नभई राज्यको चरित्र र विकासको दिशासँग जोडिएको विषयका रूपमा व्याख्या गरे ।
सांसद सुवेदीले सरकारले उत्पादनमुखी अर्थतन्त्रको कुरा गरे पनि त्यसका लागि ठोस आधार प्रस्तुत गर्न नसकेको बताए । विनियोजन विधेयकमा कृषि, उद्योग र उत्पादनको उल्लेख भए पनि भूमिसुधार, कृषकलाई उत्पादनको ग्यारेन्टी तथा सहकारीको लोकतान्त्रिक पुनःसंरचना जस्ता विषय बेवास्ता गरिएको उनको भनाइ छ ।
उनले भने, “सरकार अझै पनि दलाल पुँजीवाद र आयातमुखी आर्थिक सोचको प्रभावबाट मुक्त हुन सकेको छैन । उत्पादनभन्दा उपभोग, श्रमभन्दा बजार, आत्मनिर्भरताभन्दा आयात र सामाजिक न्यायभन्दा निजी क्षेत्रलाई प्राथमिकता दिने सोच स्पष्ट देखिन्छ ।”
सांसद सुवेदीले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कार्यान्वयनयोग्य नभएको पनि टिप्पणी गरे ।
–न्युज एजेन्सी नेपाल








