१९ मंसिर २०८२, शुक्रबार

निर्वाचन तयारीलाई तीव्रता : प्रधानमन्त्री कार्की आज सात दलसँग संयुक्त संवादमा

प्रकाशित मिति :  21 October, 2025 7:16 am


काठमाडाैँ । आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलका शीर्ष प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्न लागेकी छिन् । यो छलफललाई अन्तरिम सरकारको पहिलो व्यापक राजनीतिक परामर्शका रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका राष्ट्रिय मान्यता प्राप्त सात दलका दुई–दुई जना प्रतिनिधिलाई मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा छलफलका लागि बोलाइएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छुट्टाछुट्टै संवाद गर्दै आएकी थिइन् तर यसपटक सबै दललाई एउटै मञ्चमा ल्याएर निर्वाचन तयारीबारे संयुक्त धारणा बनाउने प्रयास उनको भएको स्रोतले जनाएको छ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार पतन भई बनेको कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने जिम्मेवारी दिइएको छ।

छलफलमा निर्वाचन सुरक्षादेखि मतदाता शिक्षा, निष्पक्ष अनुगमन र मतगणना प्रणालीसम्मका विषयमा विचार विमर्श हुने बताइएको छ ।

सरकारले निर्वाचन मिति तय गरे पनि प्रमुख दलहरूबीच समन्वय अभाव र तयारीको गति सुस्त भएको भन्दै आलोचना हुँदै आएको छ।

यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले सातै दलका प्रतिनिधिलाई एकै ठाउँमा बोलाएर साझा प्रतिबद्धता खोज्ने तयारी गरेकी हुन्। उनको प्रेस संयोजकले बताएअनुसार, छलफलका लागि सबै दललाई औपचारिक पत्र पठाइएसँगै टेलिफोनमार्फत पनि जानकारी गराइएको छ।

सञ्चारमन्त्री जगदीश खरेलले छलफलका लागि सबै दलका नेतालाई व्यक्तिगत रूपमा सम्पर्क गरेर जानकारी गराएको पुष्टि गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री कार्कीको यो पहलले दलहरूबीच चुनावी आस्था र विश्वास पुनःस्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। तर, दलहरूले कति व्यवहारिक सहयोग गर्छन् भन्ने कुरा भने आजको बैठकपछि स्पष्ट हुनेछ।



प्रतिक्रिया दिनुहोस !