निर्वाचन तयारीमा सरकार सक्रिय : सर्वदलीय छलफलले राजनीतिक संवादलाई नयाँ दिशा
काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई समयमै सम्पन्न गर्न सरकार सक्रिय बनेको छ। निर्वाचनको वातावरण निर्माणका उद्देश्यले सरकारले राजनीतिक दलहरूसँग चरणबद्ध वार्ता र संवाद सुरु गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले आगामी निर्वाचनका तयारी, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा केन्द्रित छलफल गरेको छ। करिब पाँच घण्टा चलेको बैठकलाई सहभागीहरूले ‘राजनीतिक संवादमा नयाँ सुरुवात’ का रूपमा लिएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, बैठकले सरकार र दलहरूबीचको संवादलाई सकारात्मक दिशामा अघि बढाएको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले भने, “आजको छलफलबाट निर्वाचनको माहोल स्पष्ट बनेको छ। सबै दल र जनसामान्यमा पनि लोकतान्त्रिक अभ्यासप्रतिको जिम्मेवारीबोध देखिएको छ।”
मन्त्री खरेलका अनुसार, जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थायित्वका लागि प्रतिवद्धता जनाउँदै आएको छ । उनले भने, “सरकारले छोटो अवधिमै संवाद र सहकार्यको वातावरण बढाएको छ। अहिले मुलुक संवादहीनताबाट बाहिरिएको छ।”
प्रधानमन्त्री कार्कीले बैठकमा सरकार भयरहित वातावरणमा निष्पक्ष र स्वच्छ निर्वाचन गराउन पूर्णतः प्रतिबद्ध रहेको बताएकी थिइन्। उनले मन्त्रीहरू, प्रशासनिक निकाय र सुरक्षा संयन्त्र सबैले निर्वाचन तयारीमा पूर्ण ऊर्जा दिएर जुटेको जानकारी दिइन्।
बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पनि आगामी निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए। निर्वाचनलाई सबै दलको साझा जिम्मेवारीका रूपमा लिँदै उनीहरूले राजनीतिक संवादलाई निरन्तरता दिने सहमति जनाएको स्रोतले जनाएको छ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार, सञ्चारमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।
त्यसैगरी, नेपाली कांग्रेसबाट गगनकुमार थापा र डा. प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी तथा नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायतका नेता उपस्थित थिए।
मन्त्री खरेलले तिहार पर्वपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिँदै सरकारको काम सुचारु र समावेशी बनाउन प्रधानमन्त्रीले पहल गरिरहेको पनि बताए।
बैठकमा सहभागी नेताहरूका अनुसार, अहिलेको राजनीतिक वातावरणले निर्वाचन तयारीतर्फ नयाँ आशा जगाएको छ। संवादमै मुलुकको निकास खोज्ने सहमतिको भावनासँगै सरकारले दलहरूसँगको विश्वासको पुल विस्तार गरेको मूल्यांकन गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, जेनजी आन्दोलनपछिको संक्रमण अवस्थालाई संस्थागत निकास दिन सरकारले सुरु गरेको यो संवाद प्रक्रिया आगामी निर्वाचनको वैधता र स्थायित्व सुनिश्चित गर्न निर्णायक बन्न सक्छ।








