१९ मंसिर २०८२, शुक्रबार

मन्त्री कुलमान घिसिङको स्पष्टिकरण : कुनै पार्टीमा आबद्ध हुने छलफल भएको छैन

प्रकाशित मिति :  23 October, 2025 4:53 pm


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

हालै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा घिसिङलाई ‘उज्यालो नेपाल पार्टी’ सँग जोड्दै उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने समाचार प्रकाशित भएपछि उनले ती समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

मन्त्री घिसिङले विज्ञप्ति जारी गर्दै भनेका छन्, “सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहेको स्पष्ट पार्दछु ।”

उनले कुनै पनि प्रकारको परामर्श वा सल्लाह बिना दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका छन् । साथै, उनले सबैलाई यस्ता भ्रमपूर्ण समाचारमा नपर्न आग्रह गरे ।

मन्त्री घिसिङ हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व गर्दै विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली सुदृढीकरणका लागि विभिन्न योजना अगाडि बढाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !