प्रधानमन्त्री कार्कीद्वारा सुरक्षा निकायसँग चुनावी वातावरणका लागि छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग मुलुकको सुरक्षा अवस्थाबारे गहन छलफल गरेकी छिन् ।
छलफलको मुख्य विषय मुलुकमा चुनावी वातावरण बनाउन आवश्यक सुरक्षा उपाय र सडक प्रदर्शनले निम्त्याउन सक्ने जोखिमको विश्लेषण रहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उनका अनुसार, राजनीतिक दलहरुले सडक प्रदर्शन गर्ने तयारी गरिरहँदा सरकारले संवादमार्फत उनीहरुको माग सुन्न तयार रहेको बताउँदै प्रदर्शनमा नजान आग्रह गरिएको छ।
गृहमन्त्री अर्यालले भने, “यो छलफल खास गरेर सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषणमा केन्द्रित थियो। सडक प्रदर्शनसँग सम्बन्धित जोखिम र त्यसले निम्त्याउन सक्ने चुनौतीहरुमा गहन विचार-विमर्श भयो। सरकार संवादमार्फत राजनीतिक दलको माग सुन्न तयार छ, त्यसैले अब सडकमा जान आवश्यक छैन।”
उनले थप भने, “सडक प्रदर्शन गर्दा अरुको अधिकारमा हनन, सार्वजनिक वा निजी सम्पत्तिमा क्षति, वा हिंसा हुनुहुँदैन। लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अहिंसात्मक तरिका अपनाउनु आवश्यक छ। सरकारले राजनीतिक दलहरुलाई यसबारे सचेत गराउँदै आएको छ।”
सरकारले मुलुकको सुरक्षा अवस्थालाई सामान्य बनाउन निरन्तर सुरक्षा निकायसँग छलफल गर्दै आएको छ र आगामी चुनावी वातावरण शान्तिपूर्ण बनाउने दिशामा सबै राजनीतिक शक्ति र दलहरुलाई संवादमार्फतै अगाडि बढ्न अनुरोध गरिएको छ।








