१९ मंसिर २०८२, शुक्रबार

विप्लवको काठमाडौँ प्रदर्शन : स्वाधीनता र समाजवादका लागि आह्वान

प्रकाशित मिति :  27 October, 2025 2:23 pm


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी कार्तिक २० गते काठमाडौँमा बृहत् जनसभा तथा प्रदर्शनकाे आयाेजना गरेकाे छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गर्ने तयारी पूरा भएको बताएका छन् ।

उनले सो दिन स्वाधीनता, आत्मसम्मान र समाजवादका पक्षमा सबै नागरिकलाई सडकमा उत्रिन आह्वान गरेका छन् । नेकपाको हालै सम्पन्न बैठकले देशव्यापी राजनीतिक अभियानको पहिलो चरणस्वरूप काठमाडौँमा बृहत् जनसभा गर्ने निर्णय गरेको थियो।

सभामार्फत् पार्टीले ‘आत्मनिर्भर, समाजवादी र स्वाधीन नेपाल’ निर्माणको सन्देश दिने बताइएको छ । विप्लवले भनेका छन्, “नेपाललाई अरूले होइन, हामी नेपालीहरूले नै फेर्ने हो। जबसम्म भ्रष्टाचार, तस्करी, दलाली र परजीवी सोच अन्त्य हुँदैन, देश आत्मसम्मानसहित उन्नति गर्न सक्दैन।” उनले थपे, “स्वाधीनता र समाजवादका पक्षमा उभिन कार्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू।”

पार्टी स्रोतका अनुसार उक्त जनसभामा काठमाडौं उपत्यकाका साथै देशभरबाट कार्यकर्ता, समर्थक र समाजवाद पक्षधर नागरिकहरूको ठूलो उपस्थिति रहनेछ। कार्यक्रममा महासचिव विप्लवसहित शीर्षस्थ नेताहरूको सम्बोधन हुने तयारी छ।

नेकपाले हाल देशभर भ्रष्टाचार, राष्ट्रघात र आर्थिक निर्भरता विरुद्ध अभियान थालेको छ। विप्लव समूहले यसअघि पनि राष्ट्रिय स्वाधीनता, जनअधिकार र समाजवादी नीति कार्यान्वयनको माग गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्तिक २० गतेको जनसभालाई पार्टीले “स्वाधीनता, आत्मसम्मान र समाजवादका लागि जनआन्दोलनको सुरुवात” का रूपमा हेरेको छ ।

काठमाडौँमा हुने उक्त प्रदर्शनमा सहभागी हुन नेकपाले सबै देशभक्त र समाजवाद समर्थक शक्तिहरूलाई एकजुट भएर सडकमा निस्कन आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !