१९ मंसिर २०८२, शुक्रबार

जेन–जी आन्दोलनपछि दलका कार्यालय पुनःनिर्माणको काम सुरु

आन्दाेलनका क्रममा काँग्रेसकाे ३ करोड, एमालेकाे १० करोड, माओवादी केन्द्रकाे ५ करोड र समाजवादीकाे पार्टी कार्यालय ताेडफाेडमा १.२५ करोडकाे क्षति भएकाे थियाे
प्रकाशित मिति :  28 October, 2025 2:11 pm


काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको निशानामा परेपछि अहिले ती दलहरूले क्षतिग्रस्त भवनहरूको पुनर्निर्माण र कार्यालय सञ्चालन पुनः थाल्न थालेका छन् ।

आन्दोलनकारीहरूले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का पार्टी कार्यलयमा तोडफोड तथा आगजनी गरेका थिए ।

आगजनीका कारण भवनहरू जीर्ण बनेका छन् भने कार्यालयमा रहेका कागजातहरू नष्ट र डिजिटल उपकरणहरू लुटिएका थिए । हाल दलहरूले सरसफाइ, मर्मत र पुनर्निर्माणका कामलाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेका छन् ।

नेकपा (एमाले) का केन्द्रिय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी कार्यालयमा रहेका सबै भौतिक सामग्री र दस्तावेज आगोले नष्ट भएका छन् ।

उनका अनुसार करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । हाल अस्थायी टेन्ट हालेर पार्टीको नियमित कार्य सञ्चालन भइरहेको उनले बताए ।

क्षतिग्रस्त भवनको इन्जिनियरिङ परीक्षण सकिएको र एक महिनाभित्र पुनर्निर्माण सक्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय कार्यालय मुख्यसचिव गणेशमान पुनका अनुसार पार्टी कार्यालय सरसफाइपछि पुनः सञ्चालनमा आएको छ ।

अहिले झ्याल–ढोका परिवर्तन, रंगरोगन र मिटिङ हलको मर्मत कार्य भइरहेको छ । उनका अनुसार जनवर्गीय संगठनहरूको सहयोगमा रेट्रोफिट डिजाइनमार्फत भवन पुनर्निर्माणको तयारी भइरहेको छ । माओवादी केन्द्रले करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार पार्टी कार्यलयमा भएका सबै सामान लुटिएका छन् र दुई कोठामा आगो लगाइएको छ ।

प्रारम्भिक मूल्याङ्कनअनुसार करिब १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । पार्टी अहिले सहयोगी र दाताबाट चन्दा संकलन गरी कार्यालय सञ्चालन र मर्मतको तयारीमा रहेको छ ।

राजनीतिक दलहरूले सरकारको क्षति मूल्याङ्कन र पुनर्निर्माण सहयोग नपाएपछि आफ्नै स्रोत र सहयोगी दाताहरूको मद्दतमा कार्यालय सञ्चालन र पुनर्निर्माणको काम अघि बढाएका छन् ।

मर्मत र पुनःसंरचनाका कामलाई अभियानकै रूपमा अघि बढाउँदै दलहरूले संगठनका आगामी कार्यक्रमहरूलाई निरन्तरता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !