१९ मंसिर २०८२, शुक्रबार

कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य शाहीकाे प्रस्ताव : १८ वर्षकाे निर्मम समीक्षा गराैँ र नयाँ बाटो बनाऔँ

प्रकाशित मिति :  29 October, 2025 2:11 pm


देउखुरी । कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य प्रकाश शाहीले देशको हालको राजनीतिक परिस्थितिबारे कडा टिप्पणी गर्दै २०६३ पछि स्थापित संसदीय राजनीतिक संरचना गम्भीर संकटमा परेको बताएका छन् ।

निर्वाचन आयोगमा कम्युनिस्ट पार्टी नेपालको दर्ता प्रक्रिया अघि बढेपछि सामाजिक सञ्जालमा फैलिएको राजनीतिक बहसलाई उल्लेख गर्दै शाहीले लेखेका छन्, “२०६३ पछिका संसदीय क्रोनिकहरूको फाइबर हाई भएको छ, यसको उपचार भने सबै पक्षले १८ वर्षको आत्मसमिक्षा गर्नेतिर जानुपर्छ ।”

उनले वर्तमान अवस्थामा शासकीय स्वरूप, निर्वाचन प्रणाली, सरकारको स्थायीत्व र उत्पीडित राष्ट्र तथा जनताको सार्वभौमिकता सुनिश्चित गर्न संविधानमै पुनरावलोकन आवश्यक रहेको धारणा राखेका छन् ।

शाहीको भनाइमा देश हाल “निरन्तरताको क्रमभंगपछि” नयाँ मोडमा पुगेको छ र जनादेशले बर्खास्त गरेका निकम्मा शक्ति केन्द्रहरू पुनः सक्रिय भएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “२०६२/६३ को ऐना राम्ररी हेर्नुपर्छ, कसैको भाग खोसेकोजस्तो रूवाबासले हैसियत पनि निर्धारण गरेको छ।”

आर्थिक दिशातर्फ संकेत गर्दै शाहीले डिजिटल प्रविधीको उपयोगबाट देशको अर्थतन्त्र सुदृढ गर्नुपर्ने, भूमिको पुनर्वितरण, शिक्षा, स्वास्थ्य र रोजगारी सबैका पहुँचमा पुर्‍याउने विषयमा राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरेका छन् ।

शाहीको पोस्टपछि सामाजिक सञ्जालमा राजनीतिक वाद–विवाद चर्किएको छ। केहीले उनको विचारलाई “आवश्यक आत्मसमिक्षाको आह्वान” भनेका छन् भने केहीले “विगतका असफल प्रयोगको पुनरावृत्ति” भन्दै आलोचना पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !