१९ मंसिर २०८२, शुक्रबार

सभापति पुनको चेतावनी-महाधिवेशन प्रतिनिधिका आवाजलाई बेवास्ता नगरौं

प्रकाशित मिति :  31 October, 2025 8:47 am


काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर उत्पन्न आन्तरिक असन्तुष्टि अझ चुलिँदै गएको छ । लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुन मगरले २४८८ जना महाधिवेशन प्रतिनिधिका हस्ताक्षरलाई बेवास्ता गर्ने प्रवृत्तिले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने चेतावनी दिएका छन् ।

२९ असोजमा ४७४३ मध्ये २४८८ जना प्रतिनिधिले पार्टी विधानको धारा १२ (२) अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर बुझाएका थिए । विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ, तर त्यसको प्रक्रिया अझै अस्पष्ट छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति पुनले भने, “२४८८ हस्ताक्षरलाई केही होइन भन्ने निर्णय भयो भने कांग्रेसलाई ठूलो क्षति पुग्नेछ।”

उनले लुम्बिनीमा सदस्यता नवीकरण र वितरणमा खासै समस्या नभएको दाबी गर्दै केन्द्रमै ढिलासुस्ती भइरहेको टिप्पणी गरे ।
पुनले भने, “एमाले र माओवादीले मंसिरमै महाधिवेशन गर्ने तयारी गरिरहेका छन् तर कांग्रेस भने नियमित कि विशेष भन्ने विवादमै अड्किएको छ। समस्या तल्लो तहमा होइन, नेताहरूको मनोवृत्तिमा छ।”

उनले पार्टीलाई एकढिक्का बनाएर जनतामाझ लैजान महाधिवेशन आवश्यक रहेको बताउँदै नेताहरूबीचको खिचातानीले कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिए ।

“हस्ताक्षर गर्नेहरू फुटाउने होइन, पार्टीलाई बचाउने चाहना राख्नेहरू हुन्,” उनले भने, “यदि महाधिवेशनबाटै एकताको बाटो खोजिएन भने जनतामाझ ठूलो पार्टीको रूपमा फर्कने कल्पना पनि नगरौं ।”

पुनको यस्तो स्पष्ट वक्तव्यले कांग्रेस नेतृत्वमाथि दबाब थपिएको छ। कार्यवाहक सभापति खड्काले विधानले तोकेको समयसीमा नाघ्ने जोखिम मोल्ने वा तत्काल विशेष महाधिवेशन बोलाउने, अब पार्टीको दिशा त्यसैबाट तय हुने देखिन्छ।



प्रतिक्रिया दिनुहोस !