एमाले सचिवालय बैठक आज : ११औं महाधिवेशन तयारीबारे छलफल हुँदै
काठमाडौँ । नेकपा (एमाले) को ११औं महाधिवेशन तयारीका विषयमा औपचारिक छलफल गर्न आज सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, गुण्डुमा बिहान ११ बजे बैठक सुरु हुने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने महाधिवेशनको तयारी सम्बन्धी प्रारम्भिक प्रतिवेदन आजको बैठकमा प्रस्तुत गरिनेछ ।
पोखराको भौतिक तयारी र पूर्वाधारस्थितिबारे उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले बैठकमा रिपोर्टिङ गर्ने तयारी गरेका छन् ।
बैठकले महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको संख्या, छनोटका मापदण्ड र जिम्मेवारी बाँडफाँडलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन कार्यक्रम र पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि बैठकमा समीक्षा तथा छलफल हुने जनाइएको छ ।
एमाले नेतृत्वका अनुसार महाधिवेशनलाई सफल र ऐतिहासिक बनाउन संगठनात्मक तयारी तीव्र पार्ने निर्णय आजको बैठकबाट हुने अनुमान गरिएको छ ।








