१९ मंसिर २०८२, शुक्रबार

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच संयुक्त बैठक २० कात्तिक बस्ने

प्रकाशित मिति :  2 November, 2025 1:07 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी २० कात्तिक गते एकीकृत समाजवादीसहितको संयुक्त बैठक बोलाएको छ। आइतबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

सचिवालय बैठकले यसअघि १८ कात्तिक पार्टी केन्द्रीय समिति बैठक पनि बोलाएको छ । पार्टीका नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिँदै भने, “हाम्रो केन्द्रीय समिति बैठक १८ गते बस्ने निर्णय भइसकेको छ। संयुक्त अधिवेशन तथा एकतामा आउने दलहरुको बैठक २० गते बस्ने छ।”

बैठकमा उपस्थित सचिवालय सदस्य जनार्दन शर्मा बहिष्कार गरेका थिए । संयोजक पुष्पकमल दाहालले नेतृत्वको निरन्तरताका लागि अन्य पार्टीसँग एकता गर्ने निर्णय गरेकाले त्यसप्रति उनको असहमति रहेको बताइएको छ । पार्टी प्रवक्ता सापकोटाले शर्मा पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्षमा पुगेको पनि जानकारी दिए ।

सापकोटाले थपे, “आजको छलफल विशेष गरी दल दर्ता र आन्तरिक संगठनात्मक विषयमा केन्द्रित थियो। शर्मा आज उपस्थित हुनु भएन। हिजो उहाँले आफ्नो कुरा राख्नुभयो र बैठकबाट बाहिरिनुभयो, जुन अलि अराजक तरीका भयो। आज त्यस विषयमा थप छलफल भएन।”

पार्टीका अनुसार बैठकमा एकता पश्चात नयाँ दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको छ। आगामी बैठकमा यसबारे थप निर्णय हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !