१९ मंसिर २०८२, शुक्रबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा नेकपा (एकीकृत समाजवादी) पुनर्गठनको घोषणा

प्रकाशित मिति :  4 November, 2025 11:30 am


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा देखिएको आन्तरिक विभाजनका कारण पार्टी फुटेको भए पनि विलय नहुने स्पष्ट गर्दै उहाँले स्वाभिमानका साथ नयाँ पार्टी निर्माणमा जुट्न कार्यकर्ता तथा नेताहरुलाई आह्वान गरेका छन् ।

नेता खनालले मालेबाट एमाले निर्माण गरेको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै अहिले पनि क्रान्तिकारी धारको निरन्तरता स्वरूप नयाँ पार्टी निर्माण आवश्यक भएको बताए ।

उनले भने, “माधवकुमार नेपालको नेतृत्वमा देखिएको खोटका कारण अहिले पार्टी विभाजन भएको छ तर हामी कुनै पार्टीमा गएर विलय हुने छैनौँ। बरु नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा पुनःगठनमा लाग्नेछौं ।”

उनले सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पुनर्गठन अभियानमा सहभागी हुन आग्रह गरे ।

“कोही पनि आत्तिनु पर्दैन, कतै गएर निहुरिनु पर्ने आवश्यकता छैन। हामी स्वाभिमानका साथ ठिङ्ग उभिएर नयाँ पार्टी बनाउँछौं,” उनको भनाइ थियो।

खनालले नयाँ पार्टीले नेपाली विशेषता सहितको स्वतन्त्र, स्वाधीन र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने स्पष्ट गर्नुभयो। उहाँले भ्रष्टाचार, बेथिति, वर्गीय र जातीय विभेद, भाषिक तथा धार्मिक असमानता अन्त्य गरी सबै प्रकारका हक अधिकारले युक्त सुन्दर नेपाल बनाउने लक्ष्य अघि सारे ।

“हामी साँचो अर्थमा जनतासँग जाने, जनतालाई संगठित गर्ने र साँचो अर्थको स्वाधीन, स्वतन्त्र र समृद्ध नेपाल निर्माण गर्ने पार्टी बनाउँछौं,” नेता खनालले भने ।

उनले अतीतमा माले र एमाले जस्ता क्रान्तिकारी पार्टी निर्माण गरेको अनुभवलाई पुनःजागृत गर्दै “एकीकृत समाजवादीको क्रान्तिकारी धारको लेगेसीलाई निरन्तरता दिने” बताए ।

उनका अनुसार, अहिलेको विशिष्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशलाई मध्यनजर गर्दै नयाँ कार्यदिशा, नीति र सिद्धान्तसहित नयाँ पार्टी निर्माणको तयारी सुरु गरिएको छ।



प्रतिक्रिया दिनुहोस !