१९ मंसिर २०८२, शुक्रबार

‘नेपाली कम्युनिष्ट पार्टी’ जन्मियो : वाम एकताको नयाँ चरण, पुराना नेतृत्वको पुनर्संयोजन

प्रकाशित मिति :  5 November, 2025 3:22 pm


काठमाडाैँ । देशको वाम राजनीतिले फेरि एक पटक नयाँ मोड लिएको छ । दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित दश वामपन्थी घटकहरू एकीकृत हुँदै आज ‘नेपाली कम्युनिष्ट पार्टी’ नामको नयाँ राजनीतिक शक्ति जन्मिएको छ ।

भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हातेमालो गर्दै वाम एकताको घोषणा गरे । उनीहरूका साथमा नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, महेन्द्रराय यादव, चिरन पुनलगायत शीर्ष नेताहरू उपस्थित थिए ।

नयाँ एकीकृत पार्टीले माक्र्सवाद–लेनिनवाद र नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई मार्गदर्शक सिद्धान्त बनाउने घोषणा गरेको छ । पार्टीको चुनाव चिन्ह ‘पाँचकुने तारा’ तय गरिएको छ, जसले वामपन्थी एकताको प्रतीकका रूपमा अर्थ लिने संकेत दिएको छ ।

वरिष्ठ नेता प्रमेश हमालका अनुसार “सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न बृहत् वाम एकता अपरिहार्य भएको” कारण यो कदम अघि बढाइएको हो ।

पार्टीले आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । अहिलेका लागि सहभागी दलका पुराना केन्द्रीय समिति समायोजन गरेर नयाँ संयुक्त केन्द्रीय समिति बनाइनेछ, जसमा संयोजक र सह–संयोजकको संयोजनात्मक नेतृत्व रहनेछ ।

प्रदेशदेखि वडा तहसम्मका सबै संरचनामा पनि यही सह–संयोजन प्रणाली लागू हुनेछ । पार्टीले आफ्नो संगठनात्मक सञ्चालनलाई जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणालीमा आधारित बनाउने उल्लेख गरेको छ।

राजनीतिक विश्लेषकहरूले यस एकतालाई “पुराना नेताहरूको पुनर्संयोजन र राजनीतिक सन्तुलन खोज्ने प्रयास” भनेर मूल्यांकन गरेका छन् तर उनीहरूका अनुसार वाम आन्दोलनको नयाँ यात्रा तब मात्र प्रभावकारी हुनेछ जब नयाँ पार्टीले जनस्तरमा विश्वास पुनःस्थापना गर्ने ठोस कार्ययोजना अघि ल्याउँछ ।



प्रतिक्रिया दिनुहोस !