१९ मंसिर २०८२, शुक्रबार

अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न विप्लवकाे माग

प्रकाशित मिति :  6 November, 2025 8:07 pm


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले रहस्यमय ढंगले बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पछाडि षड्यन्त्र लुकेको दाबी गरे ।

उनले भने, “सरकार रहस्यमय तरिकाले गठन गरियो, त्यसका पछाडि गम्भीर राजनीतिक षड्यन्त्र छ ।” चन्दले जेन–जी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको उल्लेख गर्दै संसद् विघटन भइसकेको अवस्थामा पनि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरू सक्रिय रहेको आरोप लगाए । उनले जनतालाई त्यसविरुद्ध प्रतिवादका लागि तयार हुन आह्वान गरे ।

महासचिव चन्दले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको बताउँदै राज्यको पुनःसंरचना जनताको हितअनुसार हुनुपर्नेमा जोड दिए । “राज्यका संरचनाहरू अझै पनि जनताका बनेका छैनन्, त्यसैले संविधान पुनर्लेखन र पुनःसंरचना अपरिहार्य छ,” उनले भने ।

उनले नेताहरूको सम्पत्ति आर्जनको स्रोत छानबिन गर्नुपर्ने र प्रशासनिक सुधारमार्फत विश्वविद्यालयस्तरबाट दक्ष जनशक्ति तयार गर्नुपर्ने पनि माग गरे ।

जेन–जी आन्दोलनका मागप्रति राजनीतिक दलहरूले बेवास्ता गरे मुलुक पुनः अस्थिरतामा फस्न सक्ने चेतावनी दिँदै चन्दले भने, “यदि जेन–जी आन्दोलनका मागहरू पूरा भएनन् भने यो आन्दोलन जनआन्दोलनभन्दा ठूलो विद्रोहमा रूपान्तरण हुन सक्छ । समयमै सचेत हुनुपर्छ ।”

चन्दले आफ्नो भाषणमा अन्त्यमा जोड दिँदै भने, “हामी सबैले आफ्नो–आफ्नो रोटी सेक्ने होइन, अधूरो क्रान्ति पूरा गर्ने समय आएको छ ।”



प्रतिक्रिया दिनुहोस !