वाम सहकार्यतर्फ नयाँ पहल : विप्लव, शर्मा र भुसालबीच ‘राजनीतिक मोर्चा’को तयारी
काठमाडौँ । देशको बढ्दो राजनीतिक अन्योलका बीच वाम ध्रुवीकरणको नयाँ संकेत देखिएको छ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका पूर्वअर्थमन्त्री जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा राजनीतिक सहकार्यबारे निर्णायक छलफल भएको छ ।
तीन नेताबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, वाम शक्तिहरूबीच सहकार्य र वैकल्पिक राजनीतिक मोर्चाको आवश्यकता विषयमा विस्तृत संवाद भएको बताइएको छ । बैठकपछि घनश्याम भुसालले आफूहरू सहकार्यको दिशामा अघि बढ्ने स्पष्ट संकेत दिएका छन् ।
“हामी सहकार्यमा छौं। आजको मुलुकको आवश्यकता अनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउनेतर्फ छलफल गर्दैछौं,” भुसालले भने, “राजनीतिक अन्योललाई सम्बोधन गर्नेगरी सहकार्यलाई विकसित गर्दैजानेछौं।”
भुसालका अनुसार यो सहकार्य तत्काल एकीकरण होइन, तर साझा राजनीतिक उद्देश्यका लागि एकताबद्ध रूपमा अघि बढ्ने सहमति हो । उनले भने, “हामी एकताबद्ध भएर जानेछौं, तर ‘एकीकरण’ भन्ने भ्रम नपरोस्।”
जनार्दन शर्मा र घनश्याम भुसाल दुवै हाल माओवादी केन्द्र तथा समाजवादी पार्टीको आन्तरिक असन्तुष्ट धारका प्रमुख पात्र मानिन्छन् ।
उनीहरूले विगत केही महिनादेखि वैकल्पिक वाम अभियानको तयारी गर्दै आएका छन् । शर्माले ‘प्रगतिशील अभियान नेपाल’ नामक संगठनमार्फत युवालाई संगठित गर्ने अभियान सुरु गरेका छन् भने भुसालले समाजवादी पार्टीभित्र एकतामा नगएका समूहलाई एकीकृत गर्ने अभियान अघि बढाइरहेका छन् ।
शुक्रबारकै दिन विप्लव नेतृत्वको नेकपाले काठमाडौंको भृकुटीमण्डपमा ‘अन्तरिम सरकार निर्माण’ लगायतका राजनीतिक मागसहित र्याली र जनसभा गरेको थियो ।
सो सभामा विप्लवले सच्चा कम्युनिष्ट शक्तिहरूबीच वैचारिक सहकार्य र साझा राजनीतिक मोर्चाको आवश्यकता औंल्याएका थिए ।
विप्लव, शर्मा र भुसालबीचको भेट त्यसै दिन भएकोले यो सहकार्य सम्भावित ‘वाम वैकल्पिक मोर्चा’ निर्माणको तयारीको रूपमा लिइएको छ । स्रोतका अनुसार तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी गरेर आगामी कदम सार्वजनिक गरिने तयारी गरिएको छ ।
राजनीतिक विश्लेषकहरूले हालको परिस्थिति वाम राजनीतिमा नयाँ पुनर्संरचनाको सुरुवातका रूपमा हेरिरहेका छन् । उनीहरूका अनुसार प्रचण्ड-माधव समूहबाट असन्तुष्ट शक्तिहरू विप्लव समूहसँग नजिकिँदै जानु, नेपालमा वैकल्पिक वाम एकताको नयाँ चरणको प्रारम्भिक संकेत हो ।








