प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा एमाले सांसदहरूको हस्ताक्षर अभियान जारी
काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा नेकपा (एमाले) का निवर्तमान सांसदहरूले सुरु गरेको हस्ताक्षर संकलन अभियान आज पनि जारी रहेको छ। नेताहरूका अनुसार सो अभियान बिहीबारदेखि प्रारम्भ भएको हो।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएका केही सांसदहरूले हिजो पुनःस्थापनाको समर्थनमा दस्तखत गरेका थिए ।
सांसद हेमराज राईका अनुसार काठमाडौँमा उपलब्ध सांसदहरूबाट हस्ताक्षर संकलन सुरु भइसकेको र यो प्रक्रिया निरन्तर रूपमा अघि बढ्नेछ ।
संकलित हस्ताक्षर सर्वोच्च अदालतमा निवेदनका रूपमा पेस गर्ने कि केवल राजनीतिक सन्देशका रूपमा प्रयोग गर्ने भन्ने विषयमा एमाले नेताहरूबीच अझै स्पष्ट सहमति बनेको छैन ।
यसअघि नै प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा १६ वटा निवेदन दर्ता भइसकेका छन्, जसमा कारण देखाऊ आदेश जारी भइसकेको छ । प्रारम्भिक बहसका क्रममा अदालतले ‘कति जना सांसदहरू पुनःस्थापनाको पक्षमा छन् ?’ भन्ने प्रश्न उठाएको थियो ।
गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि एमाले पुनःस्थापनाको पक्षमा सक्रिय बनेको हो । जेन्जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि २७ कात्तिकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी २१ फागुनमा मध्यावधि निर्वाचन तोकेको छ । विघटित प्रतिनिधिसभामा एमालेका ७९ जना सांसद थिए ।








