जेन–जी मुभमेन्टद्वारा ऊर्जा मन्त्री घिसिङको बर्खास्ती माग
काठमाडौँ । जेन–जी मुभमेन्टले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । भारतको कम्पनी पीटीसी इण्डियासँग गरिएको विद्युत खरिद सम्झौता राष्ट्रघाती र गैरकानूनी भएको आरोप लगाउँदै मुभमेन्टले मन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई समेत कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।
जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा ऊर्जा मन्त्री घिसिङ र प्राधिकरणका प्रवन्ध निर्देशक सिलवालको मिलेमतोमा राष्ट्रघाती विद्युत खरिद सम्झौता गरिएको उल्लेख छ ।
उक्त सम्झौताले नेपाललाई करिब ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुने र देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मुभमेन्टका अनुसार विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको उक्त सम्झौता गैरकानूनी मात्र नभई प्रत्यक्ष भ्रष्टाचारको उदाहरण हो । विज्ञप्तिमा भनिएको छ, “ऊर्जा मन्त्री घिसिङ र प्राधिकरण प्रमुख सिलवालले सिधै राष्ट्रिय स्वार्थ विक्री गर्ने काम गरेका छन्, जुन राष्ट्रघाती कदम हो।”
मुभमेन्टले सरकारसँग तीनवटा प्रमुख मागहरु
१. ऊर्जा मन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ।
२. प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ।
३. विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत सम्झौताहरू सार्वजनिक गर्नुपर्छ।
यसबाहेक मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्न सबै व्यक्तिलाई जेल हाल्ने र राज्यको सम्पत्ति फिर्ता गराउने कानुनी प्रक्रिया तुरुन्त सुरू गर्न सरकारलाई आग्रह गरेको छ ।








